आलम हत्याकाण्ड : हत्यारालाई कारबाहीकाे दायरामा ल्याएरै छाड्ने गृहमन्त्रीको प्रतिवद्धता

आलम हत्याकाण्ड : हत्यारालाई कारबाहीकाे दायरामा ल्याएरै छाड्ने गृहमन्त्रीको प्रतिवद्धता


काठमाडौं–गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समूहले बिहीबार हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन्। सुनसरीको भुटाहामा रैयान नेशनल स्कुल चलाउँदै आएका आलमको बिहीबार मध्यान्ह गोली हानी हत्या भएकाे थियाे।

नेकपा सुनसरीका सल्लाहकार  अन्सारीको हत्या र प्रहरी जवान शिवलाल पौडेलमाथि गोली प्रहार गर्ने भारतीय हत्यारा ‘खोजीका लागि’ सुनसरी प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

बिहीबार गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे।

‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्छौं,’ उनले भने।

गृहमन्त्री थापाले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनिहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रष्ट पारे।

उनले मृतक अन्सारीप्रति श्रधाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानियहलाई संयमित हुन समेत आग्रह गरे।
संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरु देखि भईरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गनुपर्ने बताए। उनीहरुले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भिर हुनुपर्नेमा समेत जोड दिएका थिए ।