अत्तरिया– कैलालीको गोदावरीमा माघ १ गतेबाट लाग्ने १२ राशी दर्शन मकर मेलाको तयारी पूरा भएको छ।
गोदावरी धाममा आइतबार ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।
सो क्षेत्रमा श्रीयन्त्र निर्माण , स्नान कुण्ड , मेला मैदान, शिव मन्दिर जाने बाटो निर्माण , पार्किङ व्यवस्थापन, बत्तीको व्यवस्थापन, गेट,मञ्च लगायत सबै संरचनाहरु तयार गरिएको छ। गोदावरी क्षेत्रलाई निकै झकिझकाउ गरेर दुलहीझैं सजाइएको छ।
मकर मेलामा मुख्य आकर्षणका रुपमा श्रीयन्त्रलाई विशेष सजावट गरिएको छ। श्रीयन्त्रमा १२ राशि र ९ ग्रहको स्थापना गरिएको छ। पतंजली योग समितिका पदाधिकारीले श्रीयन्त्रलाई पन्चबल लगायतका विभिन्न रंगिचंगि फुल ध्वजा पताकाहरुले सजाएका छन्।
श्रीयन्त्रमा २ सय ८ कलशहरुको स्थापना गरिएको छ। माघी स्नानका लागि आउने भक्तजनलाई सहज होस् भनेर ३ वटा स्नान कुण्ड समेत निर्माण गरिएका छन्।
एक पटकमा झण्डै ५ सय जना भक्तजनहरुले स्नान गर्ने मिल्ने गरी कुण्ड निर्माण गरिएको समितिका सदस्य लक्ष्मण ऐरले जानकारी दिए।
गोदावरीमा स्नान कुण्ड , बाटो निर्माण र मेला मैदान निर्माणका लागि नेपालि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सहयोग गरिरहेका छन्।
मकर मेलामा आउने भक्तजनहरुलाई कुनै चोटपटक लागेमा वा दुर्घटना हुनसक्ने भन्दै सुविधाको लागि पदमा अस्पतालले औषधि, एम्बुलेन्ससहित स्वास्थ्य कर्मिहरुको खटाउने व्यवस्था गरिएको पदमा अस्पतालका प्रबन्ध निर्देशक डा नरबहादुर मौनीले जानकारी दिए।
१२ राशी मकर मेलाको आइतबार उद्घाटन हुने र माघ १ गतेबाट मेला लाग्ने गोदावरी धाम विकास समिति संयोजक पदमराज जोशीले जानकारी दिए।
१२ दिनसम्म चल्ने मेला अवधिभर नवग्रह शान्ति महाअनुष्ठान, विषेश पूजा तथा पाठपारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छ।
दुईवर्ष अघि महाकुम्भ गरेर सुरु गरिएको धाममा हरेक १२ वर्षमा महाकुम्भ हुने र हरेक ६ वर्षमा अर्ध कुम्भ आयोजना हुनेछ।
मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँबाट गरी लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ। प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरिएको हो।
प्रतिक्रिया