निर्मला हत्या प्रकरण : छानबिन समितिद्वारा गृहमन्त्री थापालाई प्रतिवेदन पेश

निर्मला हत्या प्रकरण : छानबिन समितिद्वारा गृहमन्त्री थापालाई प्रतिवेदन पेश


काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन प्रतिवेदन मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाएको छ ।

साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपनि कञ्चनपुर प्रहरीले अनुसन्धानमा चासो नदिँदा स्थानीयले आन्दोलन शुरू गरेका थिए ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो ।

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।