खारेज भइसकेका संस्थाको खाता फुकुवा नगर्ने अडानमा भौतिकमन्त्री महासेठ

खारेज भइसकेका संस्थाको खाता फुकुवा नगर्ने अडानमा भौतिकमन्त्री महासेठ


काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीको खाता फुकुवा गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेका छन् । विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री महासेठले खारेज भइसकेका संस्थाको खाता फुकुवा नहुने स्पष्ट समेत पारेका छन् ।

मन्त्री महासेठकाअनुसार यातायात व्यवसायीको खातामा रहेको पैसा सरकारले के काममा खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

‘कुनै पनि हालतमा यातायात व्यवसायीको खाता खुल्दैन्, संस्था खारेज भए पनि त्यो पैसा राष्ट्रको हुन्छ । अव त्यो यातायात मै खर्च गर्ने कि अन्य काममा खर्च गर्ने भन्ने छलफल भइरहेको छ ।’ मन्त्री महासेठले बैठकमा भने ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले यातायात व्यवसायी संस्थाहरूसंग वार्ता नगरिएको बताउंदै छाता सङ्गठनसंग अर्थात् यातायात व्यवसायी महासङ्घसंग वार्ता गरिएको बताए । उनले महासंघ सबैको छाता सङ्गठन भएकाले भाडादारका विषयमा वार्ता गरिएको प्रस्ट पारे ।

पहिलेको नियममा नयां सवारी चलाउँदा मात्र कम्पनीमा दर्ता गर्नुपर्ने र चलिरहेका सवारीलाई पुरानै समितिअनुसार नै चलाउने व्यवस्था भएकोले सिन्डिकेट भनेको समयमा अन्त्य नभएको उनले बताए ।