यी हुन् सातवटै प्रदेशका प्रमुख, परिचयसहित

यी हुन् सातवटै प्रदेशका प्रमुख, परिचयसहित


काठमाडौं– सरकारले ७ वटै वटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ।

 

 

बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा डा. गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाल खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको हो।

 

प्रदेश १ का प्रमुख नेपाल तथा एसियाली अनुसन्धान केन्द्रमा भाषा विज्ञानका प्राध्यापक रहेका छन्। कांग्रेस निकट विद्वान नेता मानिने सुुब्बाले भाषा विज्ञानमा विद्यावारिधि गरेका छन्।

 

उनी २०३६ को जनमत संग्रहपछि नेपाली कांग्रेससँग जोडिएका थिए।

 

प्रदेश २ का प्रमुख कायस्थ संघीय समाजवादी फोरमका केन्द्रीय सचिव हुन्।  नेपाल सरकारका पूर्व सचिवसमेत रहेका उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए।

 

प्रदेश ३ की प्रमुख कोइरालाले सन् १९९३ मा माइती नेपाल नामक संस्था स्थापना गरेर बेचिएका महिला तथा बालबालिकाको उद्धारमा उल्लेखनीय योगदान गरेकी छन्।

 

उनी सन् २०१० मा सिएनएन हिरो समेत बनिन्। अनुराधा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा सहायक महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्।

उनी केही समयअघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्।

 

 

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख कुँवर पूर्वमहान्यायाधिवक्ता हुन्। लामो समय वकालती पेशामा आबद्ध हुँदै उनी सुशील कोइराला नेतृत्वको सरकारको पालामा महान्यााधिवक्ता बनेका थिए।

 

 

प्रदेश नम्बर ५ का प्रमुख झा नेपाल सरकारका पूर्व प्रशासक तथा पूर्व मन्त्रीसमेत हुन्। उनी खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री बनेका थिए।

 

 

प्रदेश नम्बर ६ का प्रमुख खनाल पूर्वसांसद हुन्। पञ्चायत कालदेखि नै कांग्रेसका नेता बनेका उनी पहिले शिक्षक थिए।

 

 

प्रदेश ७ का प्रमुख मल्ल कैलालीका राजनीतिज्ञ हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका राष्ट्रिय पञ्चायतका सदस्य पनि थिए।