गृहमन्त्रीले निलम्बित एसपी विष्टलाई थुन्न खाेज्दा यसरी जोगाए आइजीपीले

गृहमन्त्रीले निलम्बित एसपी विष्टलाई थुन्न खाेज्दा यसरी जोगाए आइजीपीले


काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना हुुँदा सो जिल्लाका प्रहरी प्रमुख रहेका (हाल निलम्बित एसपी) दिल्लीराज विष्टलाई थुन्न खोजिएकोमा आइजीपी सर्वेन्द्र खनालले जोगाएको खुलासा भएको छ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाको अनुसन्धान फितलो हुनुमा एसपी विष्ट ‘मुख्य जिम्मेवार’ रहेकोसहितको प्रतिवेदन बुझाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उनलाई थुनेर अनुसन्धान गर्नुपर्ने मनस्थितिमा पुगेका थिए।

१० असोजमा प्रतिनिधिसभा राज्य व्यवस्था समिति तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले प्रहरीबाट ‘ब्लन्डर मिस्टेक’ भएको बताएका थिए।

निर्मलाको शव फेला परेको मुचुल्का तयार पार्दा उनका बुवा यज्ञराज पन्तको नक्कली औंठा छाप लगाइएको र निर्मलाको लुुगा समेत जलाइएको खुलासा गरेका थिए।

सोही आधारमा गृहमन्त्री थापा निलम्बित एसपी विष्टलाई थुन्न चाहान्थे । तर, प्रहरी प्रमुख आइजीपी खनालले ‘अहिलेको अवस्थामा विष्टलाई थुन्न नहुने’ अडान लिएका थिए।  गृहमन्त्री थापा र आइजीपी खनालबीच गत बुधबार छलफल भएको थियो।

तर, आइजीपी खनालले समितिले प्रतिवेदनमा लेखेकै भरमा प्रहरी अधिकृतलाई थुनेमा यसले अन्य प्रहरीको मनोबल कमजोर हुनसक्ने र अपराध अनुसन्धानमा प्रहरी अधिकारीको संशय रहने बताएका थिए।

यद्यपी, साेही दिन  संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइजीपी खनालले पन्त हत्याकाण्डमा कमजोरी गरेका कारण विष्टमाथि छानविन भइरहेको बताएका थिए।

समितिको बैठकमा सांसद विजय सुब्बाले विष्टलाई बर्खास्त नगरी किन निलम्बन मात्र गरेको भन्दै प्रश्न गरेका थिए। आइजीपी खनालले भने, ‘अहिले विष्टमाथि अनुसन्धान जारी छ, अनुसन्धानपछि भेटिएका तथ्यहरुका अनुसार जागिर खाइदिने मात्रै हैन जेलभित्र हाल्ने समय पनि छ ।’