व्यवसायी पशुपति भगतमाथि साङ्घातिक आक्रमण

व्यवसायी पशुपति भगतमाथि साङ्घातिक आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विराटनगरका व्यवसायी पशुपति भगतमाथि शुक्रबार साङ्घातिक आक्रमण भएको छ । पेट्रोलियम व्यवसायी ४९ वर्षीय भगतमाथि गएराति पसल बन्द गरेर घर जांदै गर्दा जनपथ उच्चमावि गुण्डा समूहले बाटो ढुकेर राति ८ बजेको समयमा आक्रमण गरेको हो ।

 

कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि भगतलाई विराट नर्सिङ होम लगिएको छ ।

 

भगतको शरीरका विभिन्न भाग छियाछिया हुने गरी खुकरीले काटिएको प्रहरीले जनाएको छ । उनको देव्रे घुंडाको हड्डी काटिएको छ भने देव्रे हात र ढाडमा गहिरो चोट छ । उपचारमा संलग्न हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीपकुमार गुप्ताले भगतको अवस्था गम्भीर रहेको बताए । गुप्ताका अनुसार अत्याधिक रक्तश्रावका कारण शरीरमा रगतको मात्रा कम देखिएको छ ।

 

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले स्थानीय गुण्डा नाइके एलिस गुरुङको समूहले पसल बन्द गरेर घर जाने क्रममा राति ८ बजे बाटो ढुकेर भगतमाथि आक्रमण गरेको बताए ।

 

उनले राजनीतिक संरक्षणमा लामो समयदेखि ठेक्कापट्टा, हप्ता असुली तथा गुण्डागर्दी गर्दै आएको बिसीले बताए । बिसीले गुरुङको खोजीमा प्रहरीले विशेष टोली खटाएको जनाए । घटनाको समयमा भने गुरुङ काठमाण्डुमा भएको पाइएको छ । यसैबीच घटनामा संलग्न रहेको आशंकामा प्रहरीले गुरुङका सहयोगी विराटनगर १० का मोहम्मद सिद्धिकीसहित दुई भारतीयलाई शनिबार राति नै पक्राउ गरेको छ ।