काठमाण्डु – चर्चित गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाको भिसा सम्बन्धमा आएका समाचारहरू हेरेर आश्चर्यचकित भएको बताएकी छन् ।
बिहीवार सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै अधिकारीले आफ्नो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही कागजात थप गर्नुपर्ने भएको बताएकी छन् ।
‘अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाइसकेकी छु, भएको यति हो,’ उनले लेखेकी छन् ।
एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडि बढ्न खोज्दै गर्दा किन बदनाम गराउन उद्दत हुनुहुन्छ भन्दै उनले प्रश्न गरेकी छन् ।
उनले लेखेकी छन्, ‘नमस्ते ! म समिक्षा अधिकारी ! आज सामाजिक सञ्जालमा मेरो बारेमा आएका न्युजहरू हेरेर म आफैं आश्चर्यचकित भएकी छु । हुन त मैले योभन्दा ठूलो प्रहरहरू खपिसकेकी छु, तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अस्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ, दिदीबहिनीहरूलाई सोध्न चाहन्छु – यहाँनिर मेरो गल्ती के भयो ? एउटा उमेर पुगेको मान्छे अस्ट्रेलिया नियम परिधिभित्र रहेर आफ्नो बसाइ अस्ट्रेलियामा लम्ब्याएर बस्दा एकतर्फी रूपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नुभो ? अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाइसकेकी छु, भएको यति हो । म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडि बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनुहुन्छ ? मैले भोग्नुपर्ने भोगिसके, सहनुपर्ने सही सके । प्लीज मलाई नगिजोल्नुस्, मेरो व्यक्तिगत कुराहरू हुन्छन्, मेरो अनुमति विना मेरो भिसाको स्ट्याटस चेक गर्न तपाईं बसेको देशको कानूनले दिन्छ ? मसँग एकचोटी सोधेको भए दिदीको बारेमा मै तपाईंहरूलाई बताउँथे । मेरो दिदीले कुनै नियम तोडेर होइन, अस्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दैछिन् । दिदीसँगको कुरा जोडेर प्लीज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिदिनुस् । सक्नुहुन्छ, २ वटा मिठा शब्द बोलिदिनुस्, जसले मनोबल बढाओस्, सक्नुहुन्न मलाई मानसिक तनाव नदिनुस् । आज यति मात्र भन्न चाहे कि म ब्ल्याक लिस्टमा परेको भन्ने खबर सरासर झूटा हो । मलाई अहिले तीज कार्यक्रमका लागि दिदीबहिनी इभेन्टले बोलाएको हो । म १८ वर्ष पुगिसकेको छु र मैले गार्जियन एप्लाई गरेको छु भन्ने कुरा सरासर झूटो हो । यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिन हुन विनम्र आग्रह गर्दछु । फेरि पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान् सरहका दर्शकको माया, ममता र सद्भावले पटक–पटक टुक्रिएर फेरि जोडिँदै गरेकी तपाईंकी चेली हुँ, मैले कुनै गलत काम गरेकी छैन, यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु । सबैको राम्रो होस् सबैको जय होस् !!’
प्रतिक्रिया