राष्ट्रसंघ महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौं: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रसंघ महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौं: प्रधानमन्त्री प्रचण्ड


पोखरा – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन् ।

शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताए ।

सभामा प्रधानमन्त्री प्रचण्डले भने, ‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु । यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु । आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ । यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ ।’

समाजवादी मोर्चाबारे बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोर्चा कुनै आवेगमा बनाइएको होइन । सानो उद्देश्य लिएर बनाइएको पनि होइन । निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन । यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो ।’

‘यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौं । विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो । माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो । मलाई खुशी छ,’ उनले भने, ‘सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाएका हौं ।’

‘विभाजित सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ । त्यसका लागि समाजवादी मोर्चा पहिलो कदम हो । हाम्रा विवादहरू समाधानको बाटोमा छन्, हामी छिट्टै निष्कर्षमा पुग्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।

‘क्रान्तिको आफ्नो वस्तुगत नियम छ । यो मानिसको इच्छाहरू अनुसार चल्दैन । यो क्रान्ति र प्रतिक्रान्तिको नियमअनुसार अगाडि जान्छ । हामी पनि त्यही प्रक्रियाभित्र छौं,’ उनले भने, ‘जनयुद्ध र जनआन्दोलनदेखि संविधान सभासम्मको वाद थियो । त्यसपछि हामी विवादमा गयौं, त्यसले हामीलाई विभाजित गर्‍यो । अब हामी संवादको प्रक्रियामा छौं । विवादले अन्योल र आशंका जन्मायो, त्यो व्यक्तिगत विषय थिएन । संघर्षको चरण सकिएपछि त्यो नयाँ आधारमा नयाँ एकतातिर जान्छ । यो पुरानो एकता होइन, नयाँ आधारमा नयाँ एकता हुनेछ । यो समाजवादी क्रान्तिका निम्ति एकता हो ।’

सन्देश सभालाई पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत मोर्चाका नेताहरूले सम्बोधन गरेका थिए ।