बागलुङ – नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ ।
गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न करीब २० लाख खर्च हुने अनुमान छ । गलकोट नगरपालिकाले रु आठ लाख, गलकोट सेवा समाज जापानले दुई लाख ५० हजार उपलब्ध गराएको छ ।
अन्य निकाय, सङ्घसंस्था र व्यवसायीबाट पनि प्रायोजन जुटाइएको आयोजकले जनाएको छ । शुरुमा नेपाल भलिबल सङ्घले खेल सामग्री र नगद एक लाख जिल्ला सङ्घलाई प्रदान गरेको थियो । “प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ”, अध्यक्ष श्रीसले भने , “खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।” प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । गलकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुनेछ । खेलाडी, प्रशिक्षक र टिमका पदाधिकारी गलकोट पुगिसकेका छन् । पहिलोपटक सदरमुकाम बाहिर राष्ट्रियस्तरको खेल प्रतियोगिता हुन लागेको हो ।
प्रतिक्रिया