टी–ट्वान्टी विश्वकप छनोटः भुटानमाथि नेपालको सहज जित

टी–ट्वान्टी विश्वकप छनोटः भुटानमाथि नेपालको सहज जित


काठमाडौं – आइसिसी विश्वकप टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ मा नेपालले भुटानमाथि चौथो खेलमा जित हात पारेको छ।

प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेपालले मंगलबार भएको खेलमा भुटानलाई ११७ रनले पराजित गरेको हो। नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा ३३ रनमा अलआउट भयो।  भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।

यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए, जतिबेला टिमको स्कार मात्र ६ रन थियो । तर, अनिलकुमार साहले प्रदिपसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए । आरिफ शेखले १३ रन जोडे । ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए । यसअघि नेपालले म्यानमार, मलेसिया र थाइल्यान्डलाई हराएको थियो। छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा नेपालले २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।