काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले सरकारको काम सुस्त भएको बताएका छन् ।
फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताए । उनले भने,‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ। गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’
उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने,‘यतिमात्रै होईन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिवेला ज्यादै नै महत्वपूर्ण र सकरात्मक परिस्थिति सिर्जना भएको छ। विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन् ।
राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो । त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाईको सरकार बनेको छ ।’ उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मागर्चित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा समेत राखे । उनले भने,‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ ।
यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ।’ यद्धपी अहिलेपनि पूरानै संस्कारका धंगधंगीहरु रहेको उनको भनाई थियो ।
रायमाझीले थपे,‘पूरानो संस्कारमात्रै होईन, पूरानो संविधान र यसको अभ्यासको पनि धंगधंगी छन् । जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन् । त्यसलाई सरकारले तिव्र रुपमा ती विकृति, विसंगती र कमिकमजोरीहरुलाई हटाएर अब राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्दछ ।’ अब सरकारले अलिकति पिक–अप, गियर बढाउनुपर्ने उनको सुझाव छ । उनले भने,‘सरकारले अब गियर चेन्ज गरेर तिव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु।’
प्रतिक्रिया