रवि लामिछानेको प्रश्न : सत्ताधारी दलकै नेताहरू भ्रष्ट होलान्, अब पार्टी नै बन्द गरिदिने त ?

रवि लामिछानेको प्रश्न : सत्ताधारी दलकै नेताहरू भ्रष्ट होलान्, अब पार्टी नै बन्द गरिदिने त ?


काठमाण्डु – सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले अराजकता अभिव्यक्तिमा हुनसक्ने तर माध्यमको दोष नरहेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेट फर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कैयौ युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रूपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबूकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ?’

सभापति लामिछानेले सत्ताधारी दलकै नेताहरू भ्रष्ट भएमा अब पार्टी नै बन्द गरिदिने त भनी प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौ नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कैयौ प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौ समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कैयौ अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे । आजको युगमा सोसियल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो । सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’