काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएका टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अस्थिरताको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताए ।
आफू नेतृत्वको पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको उनले बताए ।
व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य नहुने बताउँदै उनले भने, ‘संविधान र गणतन्त्रका पक्षमा हामी जनतामाझ जान्छौं, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौं ।’
चीन भ्रमणबारे जानकारी दिँदै उनले चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित जनताको राहतका निम्ति उपलब्ध गराएको सहयोग प्राप्त गर्नमा पार्टीको भूमिका रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया