विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
आज शनिबार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै उनले विरोधमा उठेका आवाजहरूलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए ।
डा. कोइरालाले संविधानमा उल्लेख भएका अधिकारहरू प्रदेशलाई नदिइएका कारण संघीयता बदनाम हुँदै गएको बताए । कर्मचारी समायोजन ऐन र प्रहरी समायोजन ऐन छिट्टै ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनले बताए ।
राजनीतिक दलका नेताहरूको एकात्मक सोचका कारण संघीयता बदनाम भइरहेको उनले बताएका छन् ।
प्रतिक्रिया