मलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेको शक्ति पार्टी एकता भत्काउन लागिपरेको छ : प्रचण्ड

मलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेको शक्ति पार्टी एकता भत्काउन लागिपरेको छ : प्रचण्ड


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताएका छन्।

 

शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एकता हुन नदिन निकै ठूला प्रयास भएको बताएका हुन्।

 

‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्। हामीसँग एकताको कुनै बिकल्प छैन । तर, यस बीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरें,’ उनले भने, ‘एउटा शक्तिले वाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो, मैले त्यसलाई ईन्कार गरें, फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ।’

 

एकतालाई जसरी पनि सफल पार्नुपर्ने उल्लेख गर्दै प्रचण्डले बौद्धिक समूहको सहयोग आवश्यक रहेको बताए।

 

प्रचण्डले परिस्थिति हेरेर निर्णय लिने आफ्नो विशेषता रहेको बताए। यद्यपी, आफूू कहिल्यै पनि रणनीतिक लक्ष्यका विरुद्ध जाने नगरेको बताए। ‘आफ्नो स्वाद पर्दा त्यही निर्णय गतिशील हुने र नपर्दा अस्थिर हुने बिचित्रको विश्लेषण पनि हामीकहाँ छ । तर, जनताको अभिमत र चाहनाविरुद्ध हामीले कुनै निर्णय गर्नु हुँदैन। विरोधीहरुका चुनौतिलाई पन्छाएर एकता सफल पार्नैपर्छ,’ उनले भने।

 

 

सम्मेलनपूर्व भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले कामचलाउ सरकारले गरेका दुरगामी महत्वका विषयहरु आफूहरुलाई मान्य नहुने र नयाँ सरकारले त्यसलाई खारेज गर्ने बताएका थिए।