प्रहरी इन्काउन्टरमा परेका टिकेलाई उपचार, यसरी भयाे इन्काउन्टर

प्रहरी इन्काउन्टरमा परेका टिकेलाई उपचार, यसरी भयाे इन्काउन्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झन्डै एक दर्जन चोरी घटनामा संलग्न रामेछापका टीकाबहादुर थापामगर ‘टिके’ प्रहरीको इन्काउन्टरमा परेका छन् । ४ माघमा डिल्लीबजार कारागारबाट फरार उनलाई शनिबार चितवनमा प्रहरीले गोली हानेर घाइते बनाई पक्राउ गरेको छ ।

 

 

 

 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीको जवाफी फायरमा उनको तिघ्रा र हातमा गोली लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ ।

 

 

 

 

मोटरसाइकलबाटै प्रहरीमाथि गोली प्रहार

ना.४७प ५०५२ नम्बरको मोटरसाइकलमा भागिरहेका उनी शनिबार साँझ करिब ५ बजे भरतपुरस्थित रामनगरमा प्रहरी इन्काउन्टरमा परेका थिए । मोटरसाइकलबाट गोली हानेपछि प्रहरीले जवाफमा फायर खोलेको थियो । मोटरसाइकलचालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । ‘डिल्लीबजार कारागारबाट झुक्याएर भागेपछि प्रहरीले उनको पिछा गरिरहेको थियो । मोटरसाइकलमा भागिरहेका उनी रामनगरमा भेटिए । पिछा गर्ने क्रममा प्रहरीलाई गोली हानेपछि जवाफमा प्रहरीले फायर खोलेको हो,’ महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने । उनलाई महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो । दोषी प्रमाणित भएपछि उनी डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै थिए । कारागारको तारजाली काटेर ४ माघमा उनी फरार भएका थिए ।

 

 

 

 

यस्ता छन् उनका चोरीका शृंखला : थापाको निसानामा महिला

 

रामेछाप दोरम्बा–१ का ‘टिके’ उपनामले चिनिने थापामागर पहिलोपटक ६ वैशाख ०६४ मा डाँका मुद्दामा पक्राउ परेका थिए । प्रहरीबाट छुटेपछि पनि उनी सुध्रिएनन् । ५ जेठ ०६५ मा उनी पुनः चोरी मुद्दामा पक्राउ परे । त्यसपछि उनको अपराध यात्रामा केही ‘ब्रेक’ लाग्यो ।

 

 

 

 

प्रहरी हिरासतबाट छुटेका उनी २४ असार ०६८ मा फेरि चोरी मुद्दामा पक्राउ परे । अदालतको आदेशबाट उनी जेल चलान भए । ५ फागुन ०६८ मा जेलबाट छुटे । त्यसपछि उनी फेरि ३ साउन ०६९ मा चोरी मुद्दामै पक्राउ परे । त्यसपछि केही वर्ष चोरीबाट निष्क्रिय रहे ।

 

 

 

 

थापाको चोरी शृंखला २१ माघ ०७१ बाट पुनः सुरु भयो । त्यसवेला उनले कलंकीकी सरस्वती आचार्यको १८ लाख ८४ हजार रुपैयाँ लुटेका थिए । बानेश्वर ह्वाइटहाउस कलेजनजिकै रहेको ग्लोबल आइएमई बैंकबाट बाहिरिने क्रममा आचार्य लुटिएकी थिइन् ।

 

 

 

 

२१ कात्तिक ०७१ मा उनले सरस्वतीनगर तेन्जिङ चोकमा हिँडिरहेकी प्रेरण राईको एक लाख ५५ हजार हजार रुपैयाँ लुटे । ६ पुस ०७१ मा जोरपाटीकी सुमित्रा अधिकारीको ६९ हजार २५० रुपैयाँ लुटे । यसैगरी, ६ चैत ०७१ मा चाबहिलस्थित ओम अस्पतालमा पर्किङ गरी राखिएको राम श्रेष्ठको बा.६७प ८४६८ नम्बर मोटरसाइकल चोरी गरे ।

 

 

 

 

एक महिनामै पाँच चोरी

२७ वैशाख ०७२ मा उनले बाफलको कोहिनुर हाउजिङनजिकबाट सीता श्रेष्ठको दुई तोला सुनको सिक्री लुटेका थिए । १ जेठ ०७२ मा थापाले महाराजगन्जको शिक्षण अस्पतालमा पार्किङ गरी राखिएको बा.७४प ३६६२ नम्बरको नीलो मोटरसाइकल र २० जेठमा पुरानो बानेश्वरका जीवन शर्माको बा.६८प १०१८ पल्सर मोटरसाइकल चोरी गरे । २७ जेठमा बुद्धनगरमा उर्मिला कँडेलको तीन तोला सुनको सिक्री लुटेका थापाले त्यसको पाँच दिनपछि ३२ जेठमा बौद्ध भाटभटेनीबाट विष्णुबहादुुर गुरुङको बा.६च ७६९८ नम्बरको गाडी चोरी गरे ।

 

 

 

 

गाडी चोरीपछि २७ लाख धरौटीमा छुटे

बौद्धस्थित भाटभटेनी सुपरमार्केटको पार्किङ परिसरमा पार्क गरिएको विष्णुबहादुुर गुरुङको बा.६च ७६९८ नम्बरको बलेरो गाडी चोरी गरी उनले मकवानपुरको पदमपोखरीमा लुकाइराखेका थिए । सो घटनामा उनलाई प्रहरीले पक्राउ गरे पनि उनी २७ लाख रुपैयाँ धरौटी राखी छुट्न सफल भए ।

 

 

 

 

कहिले के चोरी ?

२१ माघ ०७१ मा १८ लाख ८४ हजार ६३५ लुटपाट

 

२१ कात्तिक ०७१ मा एक लाख ५५ हजार लुटपाट

 

६ पुस ०७१ मा ६९ हजार २५० लुट

 

६ चैत ०७१ मा बा.६७प ८४६८ नम्बर मोटरसाइकल चोरी

 

२७ वैशाख ०७२ मा दुई तोला सुनको सिक्री लुट

 

१ जेठ ०७२ मा बा.७४प ३६६२ नम्बरको मोटरसाइकल चोरी

 

२० जेठ ०७२ मा बा.६८प १०१८ मोटरसाइकल चोरी

 

२७ जेठ ०७२ मा तीन तोला सुनको सिक्री लुट

३२ जेठ ०७२ मा बा.६च ७६९८ नम्बरको गाडी चोरी 

आजको नयाँ पत्रिकामा खबर छ ।