खुला ब्याडमिन्टन प्रतियोगितामा पहिलो दिन ४ टीम विजयी

खुला ब्याडमिन्टन प्रतियोगितामा पहिलो दिन ४ टीम विजयी


ललितपुर – सैबु भलिबल क्लबद्वारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा ४ टीम विजयी भएका छन् ।

आज शनिबार आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सैबु ब्यामिन्टन सर्कलका मनकुमार थापा र अन्जन थापाको टोली विजयी भएको छ । विजयी टीमले बालकुमारी सिर्जना क्लबका राजकुमार भण्डारी र लोकेन्द्र थापाको टोलीलाई २१–१० र २१–१० सोझो सेटमा विजयी गरेको छ ।

दोस्रो खेलमा सिद्धिपार्क क्लबका विनोद महर्जन र सुसन चौधरीको टीमले सुरबहादुर घलान र रामप्रसाद चौधरीको टीमलाई २१–८ र २१–१० को अन्तरमा जीत निकालेको छ । तेस्रो खेलमा सैबु ब्यामिन्टन क्लबका शिशिर राई र सुरेश तामाङको टोलीले मिलनबस्ती क्लबका धनबहादुर थापा र सरोजकुमार शाक्यको टोलीलाई २१–१० र २१–२२ को अन्तरमा जीत निकालेको छ ।

चौथो खेलमा बालकुमारी सिर्जना क्लबका दामोदर थापा र बुद्ध लामाको टीमले बाबुराजा महर्जन र सुवार बानियाँको टीमलाई १९–२१, २१–१७ र २१–१९ अन्तरमा जितेको छ ।

नकआउट आधारमा खेलाइने प्रतियोगितामा २४ टीम सहभागी छन् । प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका–१८ का वडाध्यक्ष दामोदर खड्काले ब्याडमिन्टन प्रतियोगिताले शारिरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘यस वडामा टोलैपिच्छे ब्याडमिन्टन क्लब स्थापना भई खेलको विकास भएको छ । त्यसले यस वडामा ब्याडमिन्टन खेलाडी र खेलप्रेमीको संख्या बढ्दै गएको छ ।’

क्लबका अध्यक्ष शंकर मगरले ४ वर्षअघि स्थापना भएको ब्याडमिन्टन सर्कलले हरेक वर्ष आन्तरिक र खुला प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए । उनले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा राखेका छन् ।

प्रतियोगिता मंसिर २३ गतेसम्म सम्पन्न हुनेछ । प्रतियोगितामा विजयी टीमले २५, २० र १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।