काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालिने बताएका छन् ।
माओवादी केन्द्रको तारकेश्वर नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सुशासनको लडाइँलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताए ।
उनले भने, ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाउने तयारीमा छौं ।’
भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी लगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचार विरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन । पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।’
मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उनले बताए ।
प्रतिक्रिया