काठमाण्डु – साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा कलाकारको सहभागिता बलियो बन्दै गएको छ ।
राजीब गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा केही दिनअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए ।
केदारको प्रवेशसँगै फिल्मको अर्को प्रमुख पात्रमा अर्पण थापाले पनि साइन गरेका छन् । थापा र फिल्मको निर्माण पक्षबीच आज औपचारिक रूपमा सम्झौता भएको छ ।
फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।
फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा फिल्म निर्माण हुन लागेको छ । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा छन् ।
फिल्मको सहनिर्मातामा रोनिशबहादुर बस्नेत छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अस्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) रहेको छ ।
फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।
निर्देशक बस्नेतले कङ्गारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।
प्रतिक्रिया