आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि, मुख्य योजनाकारसहित ३ जनाविरुद्ध ठगी मुद्दा

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि, मुख्य योजनाकारसहित ३ जनाविरुद्ध ठगी मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो ।

 

 

 

 

 

यसअघि अनुसन्धान नटुंगिएकाले प्रहरीकै अनुरोधमा माघ ६ को निर्धारित परीक्षा रद्द गरिएको थियो ।

 

 

 

 

नेपालमा ब्रिटिस काउन्सिल र इन्टरनेसनल डेभलपमेन्ट प्रोगाम (आईडीपी) ले आईएलटीएस परीक्षा लिने जिम्मेवारी पाएका छन् । संसारभर एउटै प्रश्नपत्र हुने आईएलटीएसको उक्त दिन भएको परीक्षाको प्रश्नपत्र योजनाबद्ध रूपमा चुहाइएको निष्कर्ष प्रहरीको छ । ५ माघमा प्रहरीले ब्रिटिस काउन्सिलबाट उक्त दिनको प्रश्नपत्र मगाएर बाहिरिएको उत्तरसँग दाँजेर हेरेको थियो । महानगरीय प्रहरी परिसर, काठमाडौंका मुद्दा शाखाका डीएसपी बेलबहादुर पाण्डेका अनुसार अनुसन्धानमा राइटिङ सेटका दुवै प्रश्न र लिसनिङ सेटका सबै प्रश्न र उत्तर बाहिरिएको देखियो ।

 

 

 

अति नै गोप्य र व्यवस्थित मानिने आईएलटीएसको प्रश्नपत्र बाहिरिएपछि प्रहरीले २२ पुसमा लिइएको आईएलटीएसको परीक्षाको नतिजा रद्द गर्न नेपालस्थित परीक्षा गराउने संस्था ब्रिटिस काउन्सिल र आईडीपी दुवैलाई लिखित आग्रह गरेको छ । उक्त दिनको परीक्षाफल रद्द हुने/नहुनेबारे दुवै संस्थाले आधिकारिक रूपमा केही बताइसकेका छैनन् ।

 

 

 

 

पक्राउ परेकाहरूले आईएलटीएस परीक्षाको उत्तर दिलाइदिने भन्दै ३ विद्यार्थीबाट ४ लाख १० हजार रुपैयाँ असुलेको बयान प्रहरीसमक्ष दिएका थिए । प्रहरीले ‘उत्तर बेच्ने’ धन्दामा संलग्न भन्दै सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यविरुद्ध काठमाडांै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ । यो मुद्दामा प्रहरीले ४ लाख १० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । पुतलीसडकमा रहेको नेपाल वल्र्डवाइड एजुकेसन कन्सल्टेन्सी प्रालिका कार्यकारी निर्देशकसमेत रहेका लामा नै प्रश्नपत्र चुहाउने घटनाका मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ । बयानका क्रममा सुरजले भारतीय नागरिक हनी सिंहबाट सामाजिक सञ्जाल हवाटस एपमा आईएलटीएस उत्तर पाएको बताएका थिए । तर प्रहरीले हनी सिंह कहाँका हुन् र कुन पेसामा आबद्ध छन् भन्नेबारे केही सुइँको पाउन सकेको छैन ।

 

 

 

 

स्रोतका अनुसार प्रहरीले परीक्षा गराउने दुवै संस्थालाई भारतस्थित उनीहरूकै कार्यालयमार्फत भारतीय प्रहरीमा हनी सिंहविरुद्ध उजुरी दर्ता गराउन सुझाव दिएको छ । बयानका क्रममा सुरजले हनी सिहंलाई ८/९ महिनाअघि भेटेको बताएका थिए । अत्यन्तै गोप्य मानिने आईएलटीएसको प्रश्नपत्र सिंहले कसरी पाए भन्नेबारे पनि खुलेको छैन ।

 

 

 

 

स्रोतका अनुसार नेपालमा आईएलटीएस परीक्षा सञ्चालन गराइरहेका दुई संस्था काउन्सिल र आईडीपीबीच अस्वस्थ प्रतिस्पर्धा छ । प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएलगत्तै यी दुवै संस्थाका अधिकारी एकअर्काविरुद्ध खनिएका थिए । प्रहरीले दुवै संस्थाका नेपालस्थित प्रमुखलाई नै बोलाएर यो प्रकरणबारे जानकारी लिएको थियो ।

 

 

 

 

प्रहरीले सुरुमा काउन्सिलका कर्मचारीसमेत रहेका विक्रान्त गुरुङलाई प्रश्नपत्र चुहावटमा संलग्न आशंकामा बयानका लागि बोलाएको थियो । तर उनको कुनै संलग्नता पुष्टि भएन । अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार दुवै संस्थाले एकले अर्कोलाई प्रश्नपत्र चुहावटमा जिम्मेवार देखिएको भन्दै आशंका गरेका थिए ।

 

 

 

 

आईएलटीएस अंग्रेजी भाषाको यस्तो परीक्षा प्रणाली हो जसलाई अस्ट्रेलिया, बेलायत, क्यानडा, न्युजिल्यान्डका विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरू, अमेरिकाका ३ हजार प्राज्ञिक संस्थाहरू र अन्य व्यावसायिक संस्थाहरूले मान्यता दिँदै आएका छन् । आजको कान्तिपुरमा खबर छ ।