काष्ठमण्डप पुनर्निर्माण समितिलाई महानगरको थप ५ करोड

काष्ठमण्डप पुनर्निर्माण समितिलाई महानगरको थप ५ करोड


काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँ थप रकमको चेक प्रदान गरेका छन् । शनिबार हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस रकमबाट प्रारम्भिक काम भइसकेको र सम्पन्न कामको प्रतिवेदन प्राप्त भइसकेकोले थप काम अघि बढाउन यो रकम उपलब्ध गराइएको हो ।

रकम प्रदान गर्दै मेयर शाक्यले — १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने कुरा आफूले भन्दै आएको बताउँदै यसको प्रारम्भिक काम शुरु भइसकेको बताए । मेयर शाक्यले सम्पदा पुननिर्माणमा प्राप्त उपलब्धीलाई उधृत गर्दै बसन्तपुरका अन्य सम्पदा पुननिर्माणको प्रगति पनि राम्रो रहेकाे बताए । उनले माजु देग पुननिर्माणका लागि कार्यादेश दिन बाँकी रहेकाे र  कुमारी घरको पनर्माण वा पुननिर्माण गर्ने विषयमा प्राविधिक परीक्षण भइरहेको बताए ।

सोही अवसरमा बोल्दै वडा २३ का अध्यक्ष मचाराजा महर्जनले, बसन्तपुर क्षेत्रमा सम्पदा पुननिर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको तर, काम नसकिएको बताए ।