सेयर कारोबारमा उछाल, आधा घण्टामै एक अर्बको किनबेच

सेयर कारोबारमा उछाल, आधा घण्टामै एक अर्बको किनबेच


काठमाण्डु- सेयर बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको छ। आज बजार खुलेको ३० मिनेटमै १ अर्ब आठ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

चालु मौद्रिक नीतिको पहिलो समीक्षामार्फत राष्ट्र बैंकले केही खुकुलो नीतिगत व्यवस्था गरेपछिका ११ दिनमा सेयर बजार परिसूचक २५४ अंकले बढिसकेको छ। यही अवधिमा बजार सेयर बजार पुँजीकरण ४ खर्ब रुपैयाँले बढेको छ।

लामो समयदेखि सेयर बजार एक हजार ८ सयदेखि २ हजारबीचको सेरोफेरोमा चलिरहेको थियो। मौद्रिक नीति केही खुकुलो बनाएपछि भने छोटो समयमा नै परिसूचकले २१ सय पार गरेको छ।

मौद्रिक नीतिको समीक्षाअघि मंसिर २१ मा नेप्से परिसूचक १८५२ मा थियो। त्यसयता एक दिन सामान्य गिरावटबाहेक अन्य सबै दिन बजारमा हरियाली छाएको छ। फलस्वरुप बजार मंगलबारसम्म २ हजार १ सयभन्दा माथि पुगेको छ। त्यसमा पनि पुस १ देखि तीन दिन बजार उच्च दरले बढ्दा परिसूचक २१०६ विन्दुमा आएको हो। यो ११ दिनमा २५४ अंकको बढोत्तरी हो।

सेयर बजारसँगै कारोबार रकममा वृद्धि भएका कारण सेयर बजार पुँजीकरण पनि बढेको छ। मौद्रिक नीतिको समीक्षा आउनुअघि मंसिर २१ मा सेयर बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब रुपैयाँ थियो। पुस तीन मंगलबार भने पुँजीकरण ३२ खर्ब ६१ अर्ब पुगेको हो। यो ११ दिनमा ३ खर्ब ९९ अर्ब रुपैयाँ बढेको छ।