नेपाली कामदार लैजानेबारे मलेसिया र नेपालबीच कात्तिक १२ गते श्रम सम्झौता

नेपाली कामदार लैजानेबारे मलेसिया र नेपालबीच कात्तिक १२ गते श्रम सम्झौता


काठमाडौं – नेपाली कामदारहरु मलेसिया जान रोकिएपछि मलेसियन सरकार र नेपाल सरकारवीच आगामी कात्तिक १२ गते (एमओयू) मा सम्झौता हुने भएको छ ।

श्रम सम्झौताका लागी मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन नेपाल आउने कार्यक्रम तय भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ। मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत महिना एमओयूको मस्यौदासहित प्रस्ताव पठाएको थियो।

मस्यौदाको ड्राफ्टसहित नेपालले पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थियो।  मलेसिया जाने कामदारबाट नेपालका म्यानपावर कम्पनीहरुले कामदारको एक महिना तलबको आधा रकम मात्र सेवा शुल्क पाउने गरी श्रम सम्झौता हुन लागेको छ।

नेपाल सरकार र मलेसियन सरकारका अधिकारीहरुबीच भएको छलफलमा कामदारको आधा महिनाको तलब मात्र म्यानपावरहरुलाई मलेसियाका रोजगारदाता कम्पनीहरुले नै दिने नयाँ व्यवस्था गर्न लागिएको हो । कामदारलाई आर्थिक शोषण गर्दै आएका विभिन्न पाँच संस्थालाई मन्त्रालयले गत जेठमा खारेज गर्दै कारबाहीको दायरमा ल्याएपछि नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने प्रक्रिया बन्द छ।