काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउने सम्भावना रहेको छ । आइतबारदेखि अन्तिम सुनुवाइका लागि पेसी चढेकोमा बहस हुँदै आइरहेको यो मुद्दाको फैसला आज आउने सक्नेछ ।
हिजो लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि काठमाण्डु जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए। हिजो लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।
आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन्।
यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेसी तोकिए पनि लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाइसकेपछि आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो।
प्रतिक्रिया