२० जना नक्कली चिकित्सक पक्राउ, अधिकांश चिनियाँ

२० जना नक्कली चिकित्सक पक्राउ, अधिकांश चिनियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले चिकित्सासम्बन्धी योग्यताबिनै उपचार गरी बिरामी ठगेको अभियोगमा राजधानीका विभिन्न अस्पतालबाट नक्कली चिकित्सक र अस्पताल सञ्चालक गरी २० जना पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश चिनियाँ छन् ।

 

 

 

 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले उनीहरूलाई विभिन्न अस्पतालमा बिरामीको उपचार गरिरहेका बेला पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ठमेलस्थित अपोलो अस्पतालका ८ जना चिकित्सक रहेको काउन्सिल स्रोतले बतायो । पक्राउ सबै चिनियाँ नागरिक हुन् ।

 

 

 

 

प्रहरीले बौद्धस्थित ग्रेटवाल हेल्थ सेन्टर, कपुरधारास्थित सिविक अस्पताललगायत अस्पतालबाट आधा दर्जन नक्कली चिकित्सक पक्राउ गरेको छ । नक्कली चिकित्सकले झुक्याएर उपचार गरेको प्रहरीको दाबी छ । काउन्सिलका एक पदाधिकारीले पक्राउबारे सञ्चारमाध्यममा जानकारी नदिन प्रहरीले आग्रह गरेको बताए । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाको नाम सार्वजनिक गर्ने जनाएको छ ।

 

 

 

 

नक्कली चिकित्सकले उपचार गरी ठगेको उजुरी उपभोक्ता हित संरक्षण मञ्चमा परेको थियो । नेपालमा उपचार गर्ने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । दर्ता नभएका त्यस्ता चिकित्सकमाथि छानबिन गर्न मञ्चले सीआईबीमा उजुरी दिएको थियो । ‘ठगिएका व्यक्तिले उजुरी गरेपछि दोषीमाथि कारबाही गर्न जाहेरी दिइएको हो’, मञ्चका कार्यक्रम संयोजक श्रृंगऋषि काफ्लेले बताए । एक साताको अनुसन्धानपछि नक्कली चिकित्सक पक्राउ गरिएको काउन्सिल स्रोतले बतायो ।

 

 

 

 

काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले पक्राउ चिकित्सक कहीँ कतै दर्ता नभएको बताए । उनले भने, ‘दर्ताबिनै उपचार गरेको पाइएको छ ।’ प्रहरीले मुलुकी ऐनअन्तर्गत ठगी अभियोगमा थप अनुसन्धान गर्ने तयारी गरेको छ । सीआईबीका डीआईजी पुष्कर कार्कीले काउन्सिलमा दर्ता नभई बिरामी उपचार र अस्पताल सञ्चालन गरेको उजुरीका आधारमा उनीकरूलाई पक्राउ गरिएको बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।