पतंजलिका अध्यक्ष बालकृष्णले गरे प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूसँग भेटवार्ता

पतंजलिका अध्यक्ष बालकृष्णले गरे प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूसँग भेटवार्ता


काठमाण्डु – पतञ्जलि योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्री र उच्च अधिकारीसँग सामूहिक भेटवार्ता गरेका छन् ।

भेटवार्ताबारे सामाजिक सञ्जालमा लेख्दै आचार्य बालकृष्णले नेपालको समृद्ध भविष्यको योजनाका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसहित मन्त्री, सांसद, मुख्यसचिव लगायतसँग बृहत् छलफल भएको जानकारी दिए ।

उनले लेखेका छन्, ‘नेपालको समृद्धिमा पतंजलिले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा धेरै समसामयिक विषयमा योजनाबद्ध छलफल भएको थियो । सबै माननीय सदस्यहरूले पतंजलिको प्रयासको प्रशंसा गर्दै नेपालको विकासका लागि मिलेर काम गर्ने धारणा राखेका थिए ।’

नेपालमा जन्मिएका बालकृष्ण भारतको प्रतिष्ठित संस्था पतंजलिका प्रमुख संस्थापकमध्ये पर्छन् । स्वामी रामदेव र आचार्य बालकृष्णको सामूहिक नेतृत्वमा पतंजलिले उन्नति गरिरहेको छ ।