‘भारतीय विदेशमन्त्रीको भ्रमणले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भयो’

‘भारतीय विदेशमन्त्रीको भ्रमणले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भयो’


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबाट १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भएको बताएका छन् ।

बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच बिजुली निर्यात सम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर भएको बताए ।

बिहीबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा २ देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । बिजुली निर्यात सम्बन्धी द्विपक्षीय सहमति पत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भएको छ । सम्झौता नेपाल–भारत र बंगलादेशसँग पनि विद्युत् व्यापार गर्न कोशेढुंगा सावित हुनेछ ।’

प्रधानमन्त्री प्रचण्ड गत जेठमा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विद्युत् निर्यातका विषयमा सहमति भएको थियो ।