महशुल पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

महशुल पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड व्यवसायीले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् ।

आज सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन् गरेर निष्कर्षमा पुग्नुपर्ने भएकाले महान्यायधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं । महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ । त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू पनि सुचारू हुने बिकल्पमा जानु राम्रो हुन्छ । त्यसका लागि तपाईंहरूले विकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस् ।’

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्यहरू र प्रचलित कानूनका आधारमा ट्रंक र डेडिकेटेड लाइन सम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताए । उनले किस्ताबन्दीमा बक्यौता महशुल भुक्तानी गर्न व्यवसायीहरूलाई समय दिइएकाले महान्यायाधिवक्ताको कार्यालयको समेत कानूनी राय र सल्लाह लिएर सहमतिमै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीहरूले उठाएका विषयमध्ये जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरणको सम्भावना खोज्नुपर्ने बताउँदै उद्योग सञ्चालनका लागि मन्त्रालयले सम्भव समन्वय गरिरहेको बताए ।

नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले विद्युत् नियमन आयोगको निर्णय र प्रचलित कानून र कार्यविधिअनुसार नै अन्तिम समाधान निकाल्नुपर्ने बताए ।

छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे बिफ्रिङ गर्दै ट्रंक र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्यौलता समाधान गरिने बताए । उनले विद्युत् महशुल निर्धारण आयोगसँग आवश्यक परामर्श गरी प्राधिकरण ठोस निर्णय पुग्न चाहेको बताउँदै त्यसका लागि आवश्यक पहल गरिने बताए ।