काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कारवाही गर्न माग गर्दै सहकारी विभागमा प्रदर्शन गरेको छ ।
बिहीबार नेविसंघले सांसद, पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहितले विभिन्न सहकारी संस्थाबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी समेत दिएको छ ।
नेविसंघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न भनेको छ । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको रकम घोटलाबारे आफूहरूले छानबिन गरेर पीडतलाई न्याय दिलाउने बताएका छन् ।
नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लले सहकारी विभागलाई गम्भीरतापूर्वक ध्यान दिन, तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्न जोडदार माग गरेको बताएका छन् ।
प्रतिक्रिया