हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्री प्रचण्डद्वारा आह्वान

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्री प्रचण्डद्वारा आह्वान


युगान्डा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’को १९औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘म ‘नाम’का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु । हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ ।’

पहाडहरू विश्वव्यापी जनसंख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर उल्लेख गर्दै प्रधानमन्त्रीले सबै जीवित प्राणीहरूलाई यसले विश्वव्यापी सेवाहरू प्रदान गर्ने बताए । हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको विनाशकारी प्रभाव कारण दरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरुप र यसले अर्बाैंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको आफूहरू साक्षी रहेको स्पष्ट पारे ।

असंलग्नताको मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’लाई बलियो बनाऔं ।’