अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना

अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना


एजेन्सी – अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ ।

बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमान कस्तो थियो र कुन यात्रु सवार थिए भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको बताइएको छ ।

तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान कहाँबाट थियो, कता जाँदै थियो र यसमा सवार को–को थिए भन्नेबारे अहिलेसम्म कुनै पुष्टि भएको छैन ।

यसअघि अफगान सञ्चारमाध्यमले उक्त विमान भारतीय भएको दाबी गरेका थिए । उक्त विमान दिल्लीबाट मस्कोको उडानमा रहेको बताइएको थियो तर भारत सरकारले उक्त विमान भारतीय नभएको स्पष्ट पारेको छ ।

विमान दुर्घटना भएको ठाउँ चीन, ताजिकिस्तान र पाकिस्तानको सिमानामा पर्छ। यद्यपी विमान कहाँ खसेको हो भन्ने यकिन हुन सकेको छैन ।बदख्सान प्रान्तको सूचना विभागका प्रमुख जबिउल्लाह अमिरीले समाचार एजेन्सी एएफपीलाई विमान खसेको पुष्टि गरे तर उनले विमान कहाँ खसेको बताएनन्। खोजीका लागि टोली पठाइएको उनले बताए ।