यू-१९ विश्वकपः नेपाल न्युजिल्यान्डसँग पराजित

यू-१९ विश्वकपः नेपाल न्युजिल्यान्डसँग पराजित


काठमाण्डु- नेपाली यू–१९ क्रिकेट टोली आइसीसी यू-१९ विश्वकपमा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।

इस्ट लण्डनमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २३८ रन बनायो ।नेपालका लागि अर्जुन कुमालले ९० रनको अर्धशतकीय पारी खेले । शतक बनाउनबाट १० रनले चुकेका उनले १०४ बलमा १२ चौका प्रहार गरे ।

नेपालका कप्तान देव खनालले ३६ रन बनाउँदा सुवास भण्डारीले ३३ तथा दिपक बोहराले १५ रन जोडे । न्युजिल्यान्डका लागि मसोन काल्करले तीन विकेट लिए । त्यस्तै वाल सेल्डरले र अस्कर ज्याकसनले दुई-दुई विकेट लिँदा माट रोय र जेस कमिङले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि सेन्हिथ रेड्डीले १४७ रनको शतकीय पारी खेले । १२५ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५ रनको अर्धशतकीय पारी खेले । ८१ बले खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे । न्युजिल्यान्डका टोम जोनेसले ३३ रन बनाउँदा लुक वाट्सनले १४ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए । त्यस्तै गुलशन झाले दुई विकेट लिँदा दिपेश कण्डेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।