अबको बजेट कनिका छरेजस्तो हुँदैन, यसपटक ‘ब्रेक–थ्रु’ गर्नैपर्छ : प्रधानमन्त्री प्रचण्ड

अबको बजेट कनिका छरेजस्तो हुँदैन, यसपटक ‘ब्रेक–थ्रु’ गर्नैपर्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले अबको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन् ।

आज मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ । विना सम्भाव्यता अध्ययन, विना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने विडम्बना छ । त्यसबाट हामी माथि उठ्नैपर्छ । यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ ।’

‘अर्थतन्त्रका संकेतहरू सकारात्मक छन् तर हाम्रो अर्थतन्त्र दबाबमुक्त भइसकेको छैन । विकास निर्माणका काममा थुप्रै बेथिति छन्,’ उनले भने, ‘यसपटक परम्परागत सोंच र ढाँचाबाट माथि उठौं । सबैलाई खुशी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ । यसपटक ‘ब्रेक–थ्रु’ गर्नैपर्छ ।’

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहे पनि राजश्व संकलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले यसपटक नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए ।

बैठकमा अर्थसचिव डा. कृष्णहरि पुष्कर लगायत अर्थ मन्त्रालयका विभागीय प्रमुखहरूले अर्थतन्त्रको वर्तमान अवस्थाबारे विषयगत प्रस्तुति राखेका थिए ।