काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा एपीएफ क्लबमाथि त्रिभुवन आर्मी क्लबले ४ विकेटको जीत हात पारेको छ ।
भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको छ ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन, कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोडेका छन् । एपीएफका लागि रमेश कुर्मीले २ तथा मौसम ढकाल र रोहित पौडेलले १–१ विकेट लिएका छन् ।
पहिले ब्याटिङ गरेको एपीएफ ३२.४ ओभरमा १२१ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहितकुमार पौडेलले ५९ रन बनाए ।
आर्मीका लागि सोमपाल कामीले ३, अभिनाश कर्णले २ तथा, विवेक यादव, शाहब आलम र बसिर अहमदले १–१ विकेट लिएका छन् ।
प्रतिक्रिया