प्रबुद्ध व्यक्तिसँग प्रधानमन्त्री ! ‘विश्वविद्यालयमा ब्रेक थ्रु गर्दैछु, साथ दिनुहोस्’

प्रबुद्ध व्यक्तिसँग प्रधानमन्त्री ! ‘विश्वविद्यालयमा ब्रेक थ्रु गर्दैछु, साथ दिनुहोस्’


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् ।

उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको खाँचो औंल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनाल सहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा उनले देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखिकै सोच रहँदै आएको बताए ।

अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरे ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताउँदै आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्त्वपूर्ण भूमिका रहने औंल्याए ।

छलफलमा डा. केदारभक्त माथेमा, डा. पिताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनाल सहितका बौद्धिकहरूले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागबण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयको पुनःसंरचना गर्ने गरी सुधार थाल्न आग्रह गरे ।