काठमाण्डु – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा कोशी प्रदेशलाई हराउँदै सुदूरपश्चिमले जितेको छ ।
बुधबार भएको खेलमा कोशीलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कोशीले प्रस्तुत गरेको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.२ ओभरमा २ विकेट गुमाएर भेट्टाएको छ ।
सुदूरपश्चिमको जीतमा नरेन भट्टले ४९ बलमा ७ चौकासहित ५४ रन बनाए भने प्रकाश पाण्डेले ३४ र कप्तान राजु रिजालले २१ रनको योगदान गरेका छन् ।
कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिएका छन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो ।
कोशीका मिनास थापाले २६ रन बनाए । कप्तान अंकित सुवेदीले २२ र फिर्दोस अन्सारीले १३ रन बनाएका थिए ।
कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले ५ विकेट लिए । ६ ओभर बलिङ गरेका शेरले १ मेडन राख्दै २८ रन खर्चिएका थिए । खेलमा ७ ओभर बलिङ गर्दै विकास आग्रीले १ मेडन ओभर राख्दै ९ रन मात्र खर्चिएका थिए ।
जीतसँगै ५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । ८ खेल खेल्दा पनि जीतविहीन कोशी प्रदेश अंकतालिकाको पुछारमा छ ।
प्रतियोगितामा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशविरुद्ध ६५ रनको सहज जीत निकालेको छ ।
प्रतिक्रिया