प्रधानमन्त्री कप क्रिकेटमा बागमती र एपीएफ क्लब विजयी

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र एपीएफ क्लब विजयी


काठमाण्डु – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज शनिबार भएका खेलमा बागमती प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

लुम्बिनीले दिएको १०७ रनको लक्ष्य बागमतीले १७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको छ । त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी ३२ ओभर २ बलमा १०६ रन बनाएर अलआउट भएको थियो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकीलाई ८८ रनले पराजित गरेको छ । एपीएफले दिएको २०८ रनको लक्ष्य पछ्याएको गण्डकी ३३ ओभर ४ बलमा ११९ रन बनाएर अलआउट भएको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनाएको थियो । ७ खेलमा ४ खेल जितेको एपीएफ ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । ७ खेल नै खेलेको गण्डकी ४ अंकसहित आठौं स्थानमा छ ।