काठमाण्डु- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । यससँगै आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् ।
गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । समीर कँडेल ३, मुश्कान थापा ७, रोशन गौतम ९ र विपिन खत्री ८ रनमा आउट भए ।
आर्मीका स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । जितेन्द्र मुखियाले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ६।४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९।१ ओभरमा १३२ रनमा अल आउट भएको थियो ।
प्रतिक्रिया