प्रचण्डले मन्त्री फेर्न खोज्दा प्रधानमन्त्री नै फेर्न चाहन्छ कांग्रेस ? सम्धीको त्यो कुरा !

प्रचण्डले मन्त्री फेर्न खोज्दा प्रधानमन्त्री नै फेर्न चाहन्छ कांग्रेस ? सम्धीको त्यो कुरा !


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन भएको १ वर्ष पूरा भएको अवसरमा गत पुस १० गते देशवासीलाई सम्बोधन गर्दै भनेका थिए, ‘देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भनेर आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु – अब सरकारको कार्यशैली बदलिनेछ ।’

सरकारको कार्यशैली बदल्न मन्त्रीहरू फेर्नेसम्मको संकेत उनले गरेका थिए । उनले भनेका थिए, ‘ म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्नु चाहन्छु – हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’

प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्ने चर्चा राष्ट्रियसभा सदस्य निर्वाचनका कारण रोकियो । राष्ट्रियसभा चुनावपछि मन्त्री हेरफेर हुने र सरकारको कार्यशैली बदलिने भनियो । तर राष्ट्रियसभा चुनाव सकिएपछि पनि मन्त्री हेरफेर हुने संकेत देखिएन ।

राष्ट्रियसभा चुनावपछि प्रधानमन्त्री प्रचण्डले माघ १६ गते सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा राखे । बैठकमा कोशी प्रदेशमा गठबन्धनका उम्मेदवारले चुनाव हारेकोदेखि लिएर मन्त्री हेरफेरबारे छलफल भयो । तर नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकअघि मन्त्री हेरफेर गर्न नसकिने स्पष्ट पारेको छ । कांग्रेसले फागुन ७–१० गतेसम्म महासमिति बैठक गर्दैछ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेर गर्न खोज्दा रोकेको कांग्रेसले नेताहरूमार्फत प्रधानमन्त्री नै फेर्न खोजेको हो ? आशंका उब्जिएको छ । कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्दै चर्चा गराइरहेका छन् ।

अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउने कुराको सुरुआत उनकै सम्धी तथा एकीकृत समाजवादीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले गरे । गत शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले २०७९ पुस १० गते भंग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरे ।

उनले भने, ‘यसमा कुनै द्विविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्‍यौं । पहिलो कार्यकाल नेकपा माओवादीले २ वर्ष, त्यसपछि नेकपा एकीकृत समाजवादीले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

महिनौंअघि गठबन्धनभित्र भएको सहमतिबारे नेता पाण्डेले अहिले खुलासा गर्नुको कारण स्पष्ट भएको छैन । तर उनले सुरुआत गरेको कुरालाई यतिबेला नेपाली कांग्रेसका नेताहरूले पनि महत्त्वका साथ चर्चा गरिरहेका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकारमा अब अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने खुलासा गरे ।

त्यसको भोलिपल्ट कांग्रेसकै नेता तथा पूर्व महामन्त्री डा. शशांक कोइरालाले प्रचण्ड असफल भइसकेकाले अध्यक्ष नेपाललाई तत्काल प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । बिहीवार नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकारको काम गराइबाट कोही पनि सन्तुष्ट नरहेको बताउँदै अब कुनै ढिलो नगरी अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री नै सरकारको कामबाट सन्तुष्ट हुनुभएको छैन । यस्तो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले कुनै ढिलो नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

नेता डा. कोइराला कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । देउवाइतर नेता डा. शेखर कोइरालाले यसअघिदेखि नै प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नुपर्ने र कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले चाहेको मन्त्री हेरफेरको चर्चा यतिबेला प्रधानमन्त्री नै फेर्ने चर्चामा परिणत भएको छ ।