काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा २ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुने भएको छ ।
बिहीबार लिग चरणको खेल समाप्त भएसँगै पुलिस र आर्मी प्रतियोगिताको फाइनलमा पुगेका छन् । प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुनेछ ।
लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टोली पुलिस र आर्मी फाइनलमा पुगेका हुन् ।
पुलिस क्लब आफूले खेलेका ९ मध्ये सबै खेलमा विजयी भएको छ । प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जीत हात पार्ने पुलिस १ मात्र टोली हो । लिग चरणको अन्तिम दिन बिहीबार भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हराएको छ । तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कूल १८ अंक बटुलेको छ ।
आर्मी क्लबले आफूले खेलेका ९ मध्ये ७ खेलमा सफलता हात पारेको छ । २ खेलमा आर्मी क्लब पराजित भएको छ । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले ३ विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेको थियो । आर्मी क्लबले लिग चरणको अन्तिम दिन बिहीबारको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराएको छ । अंक तालिकामा आर्मी क्लब १४ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि बागमती प्रदेश र मधेश प्रदेश थोरै अन्तरले मात्र उपाधि होडबाट बाहिरिएका छन् । बागमती प्रदेशले ९ खेलमध्ये ६ जीत र ३ हारको नतिजा निकाल्दै १२ अंक जोडेको छ । अंक तालिकामा बागमती प्रदेश तेस्रो भएको छ ।
प्रतिक्रिया