भारतविरुद्ध नेपाललाई २९८ रनको लक्ष्य

भारतविरुद्ध नेपाललाई २९८ रनको लक्ष्य


काठमाण्डु – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्समा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको छ ।

भारतका २ खेलाडीले शतक बनाएका छन् । सचिन दासले ११६ र कप्तान उदय शरन १०० रन बनाएर आउट भएका छन् ।

भारतले ६२ रनमा ३ विकेट गुमाएको अवस्थामा सचिन र उदयले चौथो विकेटका लागि २१५ रनको साझेदारी गरेका छन् । नेपालका गुलसन झाले ३ र आकाश चन्दले १ विकेट लिएका छन् ।

सुपर सिक्समा शुक्रबार नेपालको अन्तिम खेल हो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालको सेमिफाइनल पुग्ने सम्भावना सुपर सिक्सअघि नै सकिएको थियो ।

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । नेपाल समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।