क्यानडाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ७ रनले विजयी

क्यानडाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ७ रनले विजयी


काठमाण्डु – एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको छ ।जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए। रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए। क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे।

पर्गतले ५० रन जोड्ने क्रममा तेस्रो विकेटका लागि निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे। त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग चौथो विकेट विकेटका लागि ६० रनको साझेदारी गरे।

निकोलासले ६० रनको योगदान गरे। पवन सर्राफबाट बोल्ड हुनुअघि उनले ९९ बलमा ७ चौका प्रहार गरे। निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो।

नेपालबाट ओपनर भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो । आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे ।

यसबाहेक, ओपनर आसिफ सेख र कप्तान पौडेलले समान आठ रन बनाए । ‘डेब्युट्यान्ट’ रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे ।

क्यानडाका उदय भगवानले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका उदयले एक मेडन फ्याक्दै ४० रन खर्चिए । साद बिन जफरले दुई विकेट लिँदा इश्वरजोत सोही, साहिद अहमदजाई र हर्ष थाकेरले समान एक विकेट लिए ।