राप्रपा नेताहरूलाई प्रचण्डको आग्रह : तपाईंहरूको संघर्ष शान्तिपूर्ण होस्

राप्रपा नेताहरूलाई प्रचण्डको आग्रह : तपाईंहरूको संघर्ष शान्तिपूर्ण होस्


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् ।

बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्न समेत राप्रपाका नेताहरूसँग आग्रह गरे ।

उनले भने, ‘नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ । लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन् । तपाईंहरूले पनि त्यहीँ माग राख्नुभएको छ । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’

उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानबिन र कारवाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो । सरकारले अभियुक्तहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया टुंगाएर फाइल अदालतमा पेश गरेको थियो, यसकै कारण अहिले अदालतले राम्रो फैसला गरेको छ । ललिता निवासको ८ खर्ब बराबरको जग्गा सरकारको नाममा फिर्ता आएको छ ।’

‘राप्रपाले आफ्ना मुद्दाहरू लिएर संघर्षमा जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन,’ उनले भने, ‘तपाईंहरूको संघर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंग्याउन पहल गरिरहेका छौं, त्यसमा सकारात्मक सहयोग रहोस् । सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस् ।’

भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणा राखी ज्ञापनपत्र बुझाएको छ ।