आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री प्रचण्ड

आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री प्रचण्ड


धनुषा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताएका छन् ।

धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको आज शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाए ।

आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले तराईमा सिँचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने कार्यमा लाग्ने बताए ।

नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले बुढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गरे ।

‘मधेशको विकास विना देशको विकास सम्भव छैन, मधेशको मुक्ति विना देशको मुक्ति सम्भव छैन,’ उनले भने, ‘मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।’

मधेश, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै उनले मधेशी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व रहेको बताए । उनले भने, ‘मधेश, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एक एकता कायम गर्न मेरो जिम्मेवारी छ ।’

४० वर्ष अगाडि भूमिगतकालमा आफू आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुर लगायतका क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

सिरहा र धनुषाका लागि पुल निर्माण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए । उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने बताए । उनले निर्धारित २ वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

१ अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६०० र ७ दशमलव ५ मिटर चौडाइ रहेकोे छ । पुल निर्माणपछि २ जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।