साझाको विद्युतीय बस चढेर प्रधानमन्त्री ओली पुगे सिंहदरबार

साझाको विद्युतीय बस चढेर प्रधानमन्त्री ओली पुगे सिंहदरबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साझा यातायातले विद्युतीय बस मंगलबारदेखि सञ्चालनमा ल्याएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मुख्यालय पुल्चोकमा बेलुन उडाएर इलेक्ट्रिक बस सेवा उद्घाटन गरेका हुन्।

एसियाली विकास बैंक (एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना समेत सार्वजनिक गरे। विद्युत प्राधिकरणले २० ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले उर्जामा अबको भविष्य विद्युत केन्द्रित हुने बताए।

’मैले पहिलो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप लाइन भनेको थिए। यी तीन वर्षमा धेरै समय परिवर्तन भइसक्यो’, प्रधानमन्त्री ओलीले भने, ’अब चुल्होचुल्होमा बिजुलीको पाइप पुर्याउँछौं।’ लुम्बिनी क्षेत्रमा पाँच वटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। अन्य तीन वटा बस चाँडै सञ्चालनमा ल्याइने साझाले जनाएको छ।

चिनियाँ कम्पनीले निर्माण पाँचमध्ये दुई बस काठमाडौँ ल्याइएको हो। अन्य बस ल्याइने क्रममा छन्। चालकसहित २० सिट क्षमताका बसमा सीसीटीभी जडान गरिएको छ। कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली, अर्थमन्त्री डा.युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत साझाको विद्युतीय बस चढेर पुल्चोकदेखि सिंहदरबारतर्फ लागेका थिए।