सेनाको ज्याकेट खरिदमा अनियमितता , के हेर्दैछन् प्रधानसेनापति ?

सेनाको ज्याकेट खरिदमा अनियमितता , के हेर्दैछन् प्रधानसेनापति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली सेनाको अफिसियल ज्याकेट खरिदमा अनियमितताको रहस्य सार्वजनिक भएको छ । सेनाका उच्च अधिकारी र ठेकेदारहरुको मिलेमतोमा बजार भाउभन्दा करिब १० करोड मूल्य बढीमा ज्याकेट खरिद गर्न लागिएको सैनिक मुख्यालय स्रोतको दाबी छ ।  

 

 

नेपाली सेनाले चालू आर्थिक वर्ष २०७४\७५ का लागि खरिद गर्ने ५२ हजार ८ सय १० थान अफिसियल ज्याकेट खरिद गर्न लागेको हो । सम्भाररथी विभागका उपरथी दीपक भारती र स्वदेश विभागका प्रमुख सेनानि निराजन बस्नेतको अगुवाइमा चन्द्र घिसिङ र रीतेश अग्रवालको मोलमोलाइमा उक्त ज्याकेटको स्पेसिफिकेसन र नमुना गत वर्षको भन्दा केही फेरबदल गरिएको छ भने अन्य ठेकेदारहरुलाई उक्त बोलपत्रमा सहभागी गर्नसमेत वञ्चित गर्ने उद्देश्य राखिएको स्रोतको भनाइ छ ।

 

 

उक्त बोलपत्र पुस २८ गतेसम्म पनि कसैलाई विक्री गरिएको थिएन । त्यसको खास कारण ज्याकेटको स्पेसिफिकेसन राख्नु रहेको स्रोतको दाबी छ । ज्याकेटको स्पेसिफिकेसन २९ पुसमा बोलपत्र डटकममा डाउनलोड गरी गोरखापत्रमा सूचना निकाली अन्य ठेकेदारहरुले नमुना बनाउन नसकून् भन्ने हिसाबले मिलेमतो भएको एक सैन्य अधिकृतले जानकारी दिए ।

 

 

घिसिङ उनै ठेकेदार हुन्, जसको चार लाख मिटर चुस्ताको कपडा नेपाली सेनामा नमुनाअनुसार नभएकोले अस्वीकृत भई छाउनीको गोदाममा अलपत्र छ । उनै घिसिङले आफू अगाडि नदेखिई अग्रवालको नाममा रहेका तीनवटा फर्मबाट बोलपत्र खरिद गरी चार हजारको आसपासमा उक्त ज्याकेट खरिदको बोलपत्र हत्याउन अनेक प्रयास भइरहेको स्रोतले जानकारी दिएको छ ।

 

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अवकाशपछि सबै कर्मचारीको सेट फेरबदल हुने भएकोले प्रमुख सेनानी बस्नेत र उपरथी भारतीले प्रधानसेनापतिलाई गुमराहमा राखेर सेटिङ गर्न खोजेको स्रोतको दाबी छ ।

यसरी बजारमा लगभग २२\२३ सय रुपैयाँ पर्ने ज्याकेटलाई बजार मूल्यभन्दा प्रतिथान करिब १७ सय बढी रकममा खरिद गर्ने तयारी गरिएको स्रोत बताउँछ । हालका प्रधानसेनापतिको अवकाशपछि भावी  प्रधानसेनापतिको रुपमा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हेर्ने गरिन्छ । नेपाली सेनामा छुट्टै पहिचान बनाउन सफल थापा प्रलोभनमा नफस्ने व्यावसायिक अधिकारी हुन् ।

 

 

प्रधानसेनापति क्षेत्रीको कार्यकाल आगामी वर्षको भदौ २४ गतेसम्म रहेको छ । क्षेत्रीको अवकाशसँग सेनाको नेतृत्व सम्हाल्ने थापाको कार्याकालमा सेनाका गतिविधि थप पारदर्शी हुने आशा गरिएको छ । सोही कारण थापा आगमनपूर्व नै सेनाको ज्याकेट खरिदमा हतारहतार र गोप्यमा निर्णय गर्न लागिएको स्रोतको दाबी छ ।