रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा


काठमाण्डु सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताएकी हुन् ।

रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने बताउँदै सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य गरिने बताइन् ।

दाताले रगत निःशुल्क दान गरे पनि प्रशोधनलगायत सेवा शुल्क लिँदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमार्फत सहयोग गरिने मन्त्री शर्माले बताइन् ।