चालू आर्थिक वर्षको राजस्व दोब्बर बनाउने अर्थमन्त्री पुनको लक्ष्य

चालू आर्थिक वर्षको राजस्व दोब्बर बनाउने अर्थमन्त्री पुनको लक्ष्य


काठमाण्डु – अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको राजस्व दोब्बर बनाउने लक्ष्य रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राजस्व दोब्बर बनाउन मातहत निकायलाई निर्देशन दिए ।

अर्थमन्त्री पुनले राजस्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको बताए । उनले भन्सार नाकामा समस्याहरू रहेको स्वीकार गर्दै भन्सार विन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको बताए ।

अर्को महिनादेखि सबैले भन्सारमा सुधार भएको महसूस गर्ने अवस्था आउने उनले बताए ।

अर्थमन्त्री पुनले आन्तरिक राजस्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे । ४० प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको उनले बताए ।

‘भन्सार चुहावट रोक्ने कार्ययोजना बनाएका छौं । यहाँहरूले अर्को महिनादेखि नै भन्सार विन्दुमा नै आँकडामा सुधार गरेको देख्नुहुनेछ । आन्तरिक राजस्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने छौं । ४० प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य छ तर ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको छ । यसलाई दोब्बर गर्ने गरी लाग्न निर्देशन दिएको छु । कहाँ समस्या छन् ? यसमा पनि अहिलेको भन्दा सुधार गर्छौं,’ उनले भने ।

सरकारको संरक्षण कम भए पनि कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने देखिएको उनले बताए । नेपालमा भारतले झैं कृषिलाई संरक्षण गर्न नसकिएको उनले बताए ।