प्रधानमन्त्री ओलीसंगको परामर्शपछि प्रचण्ड भारत जांदै

प्रधानमन्त्री ओलीसंगको परामर्शपछि प्रचण्ड भारत जांदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी भारत भ्रमणमा जाने भएका छन् । प्रचण्ड दुई दिने भारत भ्रमणको क्रममा शुक्रवार नयां दिल्ली जान लागेका हुन् ।

भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा इण्डिया फाउन्डेसनले गर्न लागेको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड यसअघि गत महिना यही संस्थाको कार्यक्रममा सहभागीता जनाउन नयां दिल्ली पुगेका थिए ।

इण्डिया फाउन्डेसन भारतिय जनता पार्टी निकट थिंक टयांक संस्था हो । यसको नेतृत्व विजेपीका महासचिव राम माधवले गरेका छन् । इण्डिया फाउण्डेसनले बिभिन्न आर्थिक,सामाजिक तथा राजनीतिक मुद्दामा स्वतन्त्र अनुसन्धान र पैरवी गर्दै आएको छ । उक्त संस्थामा विजेपी समर्थक वुद्धिजिवी आलोक वंशलले महासचिव माधवलाई सहयोग गर्दै आएका छन् ।

कार्यक्रममा सहभागी जानुअघि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसंग समेत प्रचण्डको छलफल भएको उच्च स्रोतको दाबी छ । प्रचण्डले भारतबाट कार्यक्रममा प्रमुख अतिथीको निम्तो आएको भन्दै सहभागिताबारे प्रधानमन्त्री ओलीसंग छलफल गरेको बताइएको छ । ‘भारतबाट मलाई इण्डिया फाउन्डेसनले निम्तो दिएको छ, फेरी यता स्थायी समितिको बैठक पनि छ,यस्तो अवस्थामा जांदा के होला ?’ प्रचण्डले ओलीसंग गरेको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

जवाफमा ओलीले उक्त कार्यक्रममा जांदा राम्रो हुने भन्दै भारत भ्रमणमा जान प्रचण्डलाई सुझाएको स्रोतको दाबी छ । दुवै नेताको सल्लाहपछि मात्र प्रचण्ड भारत भ्रमणमा जान लागेको स्रोतको दाबी छ । यसअघि प्रचण्डको भारत भ्रमण हुने नहुनेमा आशंका थियो ।

नेकपा नेता बामदेव प्रकरणमा दुवै नेताको दुरी बढेको आशंका बढिरहेका बेला प्रधानमन्त्री ओलीको सल्लाहमा प्रचण्ड भारत भ्रमणमा जानुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रचण्डले तीनदिनसम्म चल्ने सम्मेलनको मूल उद्घघाटन समारोहमा प्रमुख अतिथिकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रचण्डसहित वित्तमन्त्री अरुण जेट्ली, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उद्योग, वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु तथा राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डले यसअघि पनि भारतीय बुद्धिजीविमांझ नेपालले अघि सारेको समाजवादोन्मुख आर्थिक समृद्धि र दक्षिण एशियाली राजनीतिका बारेमा सम्बोधन गरेका थिए ।